
झापा, ९ असोज । मनसुनी तथा पश्चिमी वायुको प्रभावसँगै कोशी प्रदेशमा लगातार वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। वर्षाका कारण पाँचथर, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र खोटाङलगायत पहाडी जिल्लाका भित्री तथा ग्रामीण सडक खण्ड ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० योगेन्द्र सिंह थापाका अनुसार हालसम्म प्रदेशमा वर्षाका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन।
उनका अनुसार पहाडी जिल्लाका ग्रामीण सडकमा वर्षाका कारण आवागमन प्रभावित भए पनि कोशी राजमार्गको अवस्था भने हालसम्म सामान्य रहेको छ। इलामको राजदुवाली क्षेत्र वर्षाका कारण जोखिमयुक्त रहेकाले सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
पहाडी क्षेत्रमा वर्षा भइरहे पनि तराई तथा विराटनगर आसपासको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ।
सप्तकोशीको बहाव बढ्यो
लगातारको वर्षासँगै सप्तकोशी नदीका सहायक नदीहरूमा पानीको बहाव बढेको छ। बिहानको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ८५ हजार क्यूसेक पुगेको छ। कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन्।
नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
कोशीमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित बलियो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास अवस्थित छ। उक्त मौसमी प्रणालीको प्रभावले कोशी प्रदेशका अधिकांश स्थानमा दिनभर सामान्यदेखि पूर्ण बदली रहने र मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
कोशी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षा हुनसक्ने तथा तराईका केही क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो तथा रातिसमेत कोशीसहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा वर्षा जारी रहने पूर्वानुमान छ।
केही स्थानमा अति भारी वर्षासमेत हुनसक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका बस्ती तथा सडक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा तथा सुरक्षा निकायले आग्रह गरेका छन्।


