
भद्रपुर, ९ असोज । वरिष्ठ पत्रकार तथा लेखक स्वर्गीय युवराज गौतमको १३औँ दिनको पुण्यतिथिमा प्रेस क्लब भद्रपुरले बिहीबार साँझ श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
चन्द्रगढीस्थित प्रेस क्लब भद्रपुरको प्रेक्षालयमा आयोजित कार्यक्रममा झापाका पत्रकार, साहित्यकार, सञ्चारकर्मी तथा गौतमका शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो।
झापाको भद्रपुरबाट पत्रकारिताको यात्रा सुरु गरेका गौतमले काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा उच्च शिक्षा हासिल गर्नुभएको थियो। उहाँले गोरखापत्र दैनिकको प्रधान सम्पादकका रूपमा जिम्मेवारी सम्हाल्नुका साथै रेडियो नेपाल र नेपाल टेलिभिजनमा समाचार सम्पादकका रूपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
प्रेस क्लब भद्रपुरका अध्यक्ष राजवावु शंकरको संयोजनमा सम्पन्न कार्यक्रममा गौतमको अन्तिम रचना मानिएको ‘मैनबत्ती’ कविताको भावलाई स्मरण गर्दै सहभागीहरूले मैनबत्ती प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा गौतमका समकालीन पत्रकार गोपाल गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष चिन्तामणि दाहाल तथा सञ्चारकर्मी सन्तोष अग्रवालले उहाँको व्यक्तित्व, प्रखर देशभक्ति र नेपाली पत्रकारितामा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो।
साहित्यकार महेन्द्र कोइरालाले स्वर्गीय गौतमद्वारा रचित ‘मैनबत्ती’ कविता वाचन गर्नुभएको थियो। सहभागी वक्ताहरूले गौतमलाई पत्रकारिता र साहित्यका क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँका सिर्जना र योगदानलाई आगामी पुस्ताले समेत सम्झिरहने बताएका थिए।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अग्रज पत्रकार गोपाल गिरीले गर्नुभएको थियो।


