
झापा, ११ असोज । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशभरको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ। देशभर अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा तथा बागमती र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेसका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।
दिउँसो अधिकांश प्रदेशमा वर्षा
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश समय बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
सुदूरपश्चिमका तराईका धेरै स्थान तथा लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थान तथा कोशी र मधेसका तराई क्षेत्रमा एक–दुई स्थानमा पनि वर्षा हुनसक्नेछ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति पनि सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


