
झापा, ११ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ ।
समितिका पूर्वसदस्य तथा धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको श्राद्ध अपराह्नपछि गर्नुपर्ने शास्त्रीय विधान छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यसलाई अपर पक्ष वा प्रेत पक्षका नामले पनि चिनिन्छ ।
पितृ तिथिमा श्राद्ध गर्ने परम्परा
वैदिक सनातन परम्पराअनुसार ठूला चाडपर्व, यज्ञयज्ञादि तथा धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झने गरिन्छ । सोह्र श्राद्धका माध्यमबाट पितृप्रति दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध पिताको निधन भएको तिथिमा अपराह्नकाल पारेर गर्नुपर्ने शास्त्रीय व्यवस्था छ । जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएको अवस्थाबाहेक श्राद्ध नछोड्नुपर्ने उहाँको भनाइ छ ।
रोकिएमा पनि छन् वैकल्पिक तिथि
कुनै कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा धर्मशास्त्रमा वैकल्पिक व्यवस्था गरिएको छ । आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिन्छ । त्यस दिन पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म जुराएर गर्न सकिने व्यवस्था धर्मसिन्धुमा उल्लेख छ ।
आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने विकल्पसमेत धर्मशास्त्रीय ग्रन्थमा रहेको प्रा। डा। भट्टराईले जानकारी दिनुभयो । सोह्र श्राद्धको कर्म अपराह्नकालमा गर्नुपर्नेमा कतिपय पुरोहितले बिहानै गर्न सुझाउने गरेको पाइए पनि त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । यस वर्ष जेठमा अधिकमास परेकाले सोह्र श्राद्ध र बडादसैँ पर्व अघिल्ला वर्षको तुलनामा केही पछि परेको छ ।


