
झापा, ११ असोज । जापानिज इन्सेफलाइटिस (जेई) खोपविरुद्धको अभियान अन्तरगत झापामा १ लाख ६३ हजार ७४८ जनाले खोप लगाएका छन् ।
असोज ५ गतेदेखि सुरु भएको अभियानमा ९ गतेसम्म पाँच दिनका अवधिमा ६९ हजार २९३ जना पुरुष र ९४ हजार ४५५ जना महिलाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका बालकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
असोज १४ गतेसम्म सञ्चालन हुने अभियानमा ४ लाख ९३ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । असोज ९ गतेसम्म ३० देखि ६० वर्ष उमेर समूहका १ लाख २२ हजार ७७ जना र ६० वर्षभन्दा माथिका ४१ हजार ६७१ जनाले खोप लगाएको उहाँले बताउनुभयो ।
जेई खोप विरुद्धको अभियान अन्तर्गत पाँच दिनमा जिल्लामा ३३.२ प्रतिशत लक्ष्य प्राप्ति भएको छ । असोज ९ गतेदेखि झापाका १५ वटै पालिकामा खोप अभियान सुरु भएकाले प्रगति प्रतिशत क्रमश बढ्दै जाने उहाँले बताउनुभयो ।


