
कनकाई, ११ असोज । झापाको कनकाई नगरपालिकामा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान अन्तरगत ५ दिनमा ५३ प्रतिशतभन्दा बढी लक्षित जनसंख्याले खोप लगाएका छन् ।
असोज ५ गतेदेखि शुरु भएको खोप अभियान अन्तरगत असोज ९ गतेसम्ममा कुल लक्षित २६ हजार २४७ जनामध्ये १३ हजार ९४७ जनाले खोप लगाएको कनकाई नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । यो संख्या कुल लक्ष्यको ५३.१० प्रतिशत हो । खोप अभियान असोज १४ गतेसम्म सञ्चालन हुनेछ ।
खोप लगाउनेमध्ये ३० देखि ६० वर्ष उमेर समूहका १० हजार २२७ जना छन् । यसमा ६ हजार २६६ महिला र ३ हजार ९६१ पुरुष छन् । त्यस्तै, ६० वर्षभन्दा माथिका ३ हजार ७२० जनाले खोप लगाएका छन् । यो समूहमा २ हजार २ जना महिला र १ हजार ७१८ पुरुषले खोप लगाएको जनस्वास्थ्य अधिकृत अधिकारीले बताउनुभयो ।
समग्रमा खोप लगाउनेमध्ये महिलाको संख्या ८ हजार २६८ र पुरुषको संख्या ५ हजार ६७९ रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
वडा नम्बर ६ मा सबैभन्दा बढी प्रगति
वडागत तथ्यांक अनुसार कनकाई–६ मा सबैभन्दा बढी ७४.१० प्रतिशत लक्षित जनसंख्याले खोप लगाएका छन् । उक्त वडामा १ हजार ३०८ जना लक्षित रहेकामा ९६९ जनाले खोप लगाएका हुन् ।
सबैभन्दा कम प्रगति वडा नम्बर ४ मा देखिएको छ । त्यहाँ लक्षित ३ हजार ६६४ जनामध्ये १ हजार ६२८ जनाले खोप लगाएका छन्, जुन ४४.४० प्रतिशत हो ।
त्यस्तै, वडा नम्बर १ मा ५१.७० प्रतिशत अर्थात् लक्षित २ हजार ४४७ जनामध्ये १ हजार २६५ जना खोप लगाएका छन् । वडा नम्बर २ मा ६४.४० प्रतिशत अर्थात् लक्षित २ जना ४६० जनामध्ये १ हजार ५८४ जनाले खोप लगाएका छन् ।
यस्तै, वडा नम्बर ३ मा ५०.३० प्रतिशत (६ हजार ५३३ जनामध्ये ३ हजार २८५ जनाले), वडा नम्बर ५ मा ४७.१० प्रतिशत (३ हजार १४३ जनामध्ये १ हजार ४८० जनाले), वडा नम्बर ७ मा ५३.५० प्रतिशत (२ हजार २३८ जनामध्ये १ हजार १९८ जनाले), वडा नम्बर ८ मा ५७.९० प्रतिशत (२ हजार ६६५ जनामध्ये १ हजार ५४४ जनाले) र वडा नम्बर ९ मा ५५.६० प्रतिशत (१ ह्जार ७८९ जनामध्ये ९९४ जनाले) ले जेई खोप लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
अभियान अन्तर्गत बाँकी लक्षित जनसंख्यालाई समेत खोपको पहुँचमा ल्याउने गरी अभियानलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।


