
झापा, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको स्रोतलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। तर, उजुरीमा उल्लेख गरिएको कसुर वा पक्राउको विस्तृत कारण प्रहरीले सार्वजनिक गरेको छैन।
जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका थिए।
महाभियोग प्रस्तावको प्रक्रिया टुंगो नलाग्दै उनको कार्यकाल समाप्त भएको थियो। पछिल्लो समय महाभियोगसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गरेको नेपाल लाइभले जनाएको छ।


