
इलाम, ११ असोज । इलामको सूर्योदय नगरपालिका–कन्यामका चर्चित मोडल तथा कलाकार मुकेश गुरुङले ‘यामल ग्लोबल म्युजिक अवार्ड २०८३’ मा सफलता हासिल गरेका छन्।
गुरुङ अवार्डको उत्कृष्ट पाँचमा पर्दै विजेता बन्न सफल भएका हुन्। कन्यामका सडक तथा रमणीय पर्यटकीय स्थलहरूमा टिकटक र छोटा भिडियो निर्माण गर्दै उनले आफ्नो कलायात्रा सुरु गरेका थिए।
सामाजिक सञ्जालबाट सुरु भएको उनको यात्रा पछिल्लो समय विभिन्न म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुगेको छ। निरन्तरको मेहनत, सिर्जनशीलता र सक्रियताका कारण गुरुङले मोडलिङ तथा कलाकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।
कन्यामको प्राकृतिक सौन्दर्यलाई पृष्ठभूमि बनाएर सामाजिक सञ्जालमा सामग्री निर्माण गर्दै आएका गुरुङ पछिल्लो समय म्युजिक भिडियो र चलचित्रमा समेत व्यस्त हुँदै गएका छन्।
यामल ग्लोबल म्युजिक अवार्ड २०८३ मा प्राप्त यो सफलताले उनको कलाकारिता यात्रामा थप उत्साह र नयाँ अवसरको सम्भावना बढाएको छ। स्थानीय स्तरबाट सुरु भएको उनको यात्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढिरहेको उनका समर्थकहरूले बताएका छन्।


