
झापा, ११ असोज । झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम आइतबार सार्वजनिक गरिएको हो । निर्वाचनमा खतिवडाले २१ हजार ९८४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी उपेन्द्रप्रसाद ओलीले ७ हजार ३९७ र भरतकुमार गिरीले ४ हजार २६३ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल १८ हजार ९३९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी टेकनाथ खनाल ९टंक० ले ४ हजार ७९९, हेमराज गिरीले ४ हजार ९५ र ज्ञानुनाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गरे।
महिला उपाध्यक्षमा पार्वता भारती गिरी २० हजार ८१ मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी खीनमाया बस्नेतले ५ हजार ५१०, गुहेश्वरी बुढाथोकीले ३ हजार ५८६ र हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरे।
कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य १९ हजार ५६३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी भीमबहादुर गिरीले ७ हजार ४३ र भोला धितालले ६ हजार २४२ मत पाए।
सदस्यमा गिरी, कटुवाल र सेढाईं निर्वाचित
समितिको खुला सदस्यतर्फ १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तीमध्ये मदनराज कटुवालले १२ हजार ८२७, नारायणप्रसाद गिरीले ११ हजार ८१६ र रमेश सेढाईंले ९ हजार ४२५ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव दिनेशबहादुर निरौलाले जानकारी दिए।
महिला सदस्यमा शिखा खड्का १३ हजार ४५ र राधिका चुडाल हुमागाईं १२ हजार ४२ मतसहित निर्वाचित भएका छन्। महिला सदस्यका लागि सात जना उम्मेदवार चुनावी मैदानमा थिए।
लेखा सुपरीवेक्षण समिति संयोजकमा डम्बर देउजा १९ हजार ५७० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी शंकर सुवेदीले ११ हजार ६५९ मत प्राप्त गरे।
लेखा सुपरीवेक्षण समिति सदस्यमा बबिता घिमिरे १७ हजार २२७ र सुनिल कार्की १५ हजार ४८८ मतसहित निर्वाचित भएका छन्।
सहारा नेपालका अनुसार संस्थाको कार्यक्षेत्र छ जिल्ला रहेको छ। संस्थामा १ लाख ९७ हजार ५५२ जना मतदाता थिए। ८० वटा केन्द्रमार्फत सेवा दिँदै आएको संस्थामा १२ पदका लागि ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।


