
अर्जुनधारा, ११ असोज । झापाको अर्जुनधारा–११ स्थित देउनिया खेलमैदानमा आयोजना हुने प्रथम सालबारी–मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।
सालबारी–मिलडाँडा युवा परिवारको आयोजनामा असोज १७ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
सार्वजनिक खेलतालिकाअनुसार उद्घाटन खेलमा ज्ञाने चोक भेट्रान्स, पृथ्वीनगर र झिलझिले भेट्रान्स आमनेसामने हुनेछन्। दोस्रो क्वार्टरफाइनलमा आयोजक मिलडाँडा भेट्रान्स र चन्द्रगढी भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, तेस्रो क्वार्टरफाइनलमा पाँचथरको बौद्ध भेट्रान्स र चारपाने युनाइटेड भेट्रान्स तथा चौथो क्वार्टरफाइनलमा मेची भेट्रान्स र बिर्तामोड भेट्रान्सबीच खेल हुनेछ।
प्रतियोगिताको फाइनल असोज २४ गते हुनेछ। विजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १११ रुपैयाँ र ट्रफी पाउनेछ।
त्यस्तै, प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीलाई जनही ३ हजार ५ सय रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ९० हजार २२२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले बताए।


