
झापा, ११ असोज । देशका विभिन्न स्थानमा पछिल्लो चार दिनमा बाढी, पहिरो तथा डुबानलगायत विपद्का घटनामा परी १५ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको हो । विपद्का घटनामा परी चार जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाढी, पहिरो तथा डुबानमा फसेका १ हजार २८४ जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार विपद् प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको समन्वयमा उद्धार तथा राहतका काम जारी छन् । बाढी तथा पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने र पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने कामसमेत भइरहेको छ ।
प्रहरीले विपद्का घटना हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


