
झापा, १२ असोज । नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान आसपास अवस्थित छ ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा साधारणतया बदली रहेको छ । पहाडी भू–भागमा आंशिक बदली रहे पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, सडक तथा यातायातमा सामान्य प्रभाव पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


