
ताप्लेजुङ, १२ असोज । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्ष नपुग्दै दोस्रोपटक ठूलो आगलागी भएको छ। २०७७ सालमा भएको भीषण आगलागीबाट सर्वस्व गुमाएका स्थानीय व्यवसायी विस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा बिहीबारको आगलागीले पुनः ठूलो क्षति व्यहोर्नुपरेको छ।
बिहीबार दिउँसो भएको आगलागीमा १० घर र १७ वटा पसल जलेका छन्। प्रारम्भिक विवरणअनुसार आठ परिवार प्रभावित भएका छन् भने आगलागीबाट करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन्। केही पीडित भने जलेका सामान र भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने तथा पुनर्निर्माणको तयारीमा जुटेका छन्।
छोराहरूसँग बस्दै आउनुभएका ८६ वर्षीय स्यामलाल खरेलका लागि पछिल्लो आगलागीले पुरानो पीडा दोहोर्याएको छ। “पटकपटकको आगलागीले ठूलो पीडा दियो। व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो। अब बसौँ कसरी बस्ने, जाउँ कता जाने ?” उहाँले भन्नुभयो।
अग्निपीडित चन्द्र पौडेल पनि छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा पर्दा पुनःस्थापनाको चिन्तामा हुनुहुन्छ। उहाँले तत्कालको राहतले मात्रै समस्या समाधान नहुने भन्दै सरकारले बिनाब्याज ऋणको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।
“छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो। यसो तङ्ग्रिँदै गर्दा पुनः आगलागीले सखाप पार्यो,” उहाँले भन्नुभयो, “सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदियोस्। हामी पुनःस्थापित भएर साँवा रकम सरकारलाई फिर्ता गर्छौँ।”
बैंक ऋण पाउनसमेत समस्या
उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेका अनुसार बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा ऋण पाउनसमेत कठिनाइ भोग्दै आएका छन्। नदी तथा खोलाकिनारमा बजार रहेकाले बैंक तथा वित्तीय संस्थाले लगानी जोखिमपूर्ण ठान्ने गरेको उहाँको भनाइ छ।
“दोभान बजारवासीलाई बैंकबाट ऋण पाउन पनि सहज छैन। नदी तथा खोला किनारमा बसेको बजार भएकाले लगानी डुब्ने जोखिम देखाएर बैंकहरूले ऋण दिन सकिरहेका छैनन्,” काफ्लेले भन्नुभयो।
राहतसँगै दीर्घकालीन पुनःस्थापनाको माग
जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटीलगायत सरकारी तथा गैरसरकारी निकाय र मेरिङ्देन गाउँपालिकाले तत्कालका लागि पीडितलाई राहत रकम तथा विभिन्न सामग्री उपलब्ध गराएका छन्।
तर पीडितले भने तत्कालको राहतभन्दा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि विशेष सहयोग आवश्यक रहेको बताएका छन्। शनिबार दिउँसो मौसममा केही सुधार आएपछि जलेका सामान तथा भग्नावशेष पन्छाउने काम भइरहेको पौडेलले बताउनुभयो।
सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो बढी कारोबार हुने व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० वटा घर तथा पसल रहेको उद्योग वाणिज्य सङ्घ दोभानले जनाएको छ।
२०७७ सालको आगलागीको पीडा नसेलाउँदै फेरि विपत्ति
दोभान बजारमा यसअघि २०७७ साल फागुनमा ठूलो आगलागी भएको थियो। उक्त आगलागीमा ४९ घर जलेका थिए भने करिब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। त्यसबेला सर्वस्व गुमाएका कतिपय व्यवसायी र परिवार विस्तारै व्यवसाय पुनःस्थापनाको प्रयासमा थिए।
छ वर्ष नपुग्दै फेरि ठूलो आगलागी भएपछि उनीहरू आर्थिकसँगै पारिवारिक समस्यामा समेत परेका छन् । स्थानीयले दोभान बजारमा पटकपटक हुने आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। पछिल्लो समय विद्युत्का कारण आगलागीका घटना बढिरहेको भन्दै घरमा प्रयोग हुने विद्युतीय सामग्री तथा विद्युत् जडानबारे सचेतना बढाउनुपर्ने स्थानीय गुरु पौडेलले बताउनुभयो।
विपद्का बेला तत्काल प्रयोग गर्न सकिने दमकल, पानीको स्रोत तथा अन्य विपद् प्रतिकार्य सामग्रीको सहज उपलब्धतामा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ।


