
निशान निरौला
इलाम, १२ असोज । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा बालिकासहित पाँच जना घाइते भएका छन् ।
सोमबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का बोलेरो चालक ३६ वर्षीय खेमराज मगर, मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र तुम्बेवा गाउँपालिका–१ का २१ वर्षीय जनक तामाङ घाइते भएका छन् ।
घाइतेमध्ये १२ वर्षीया लामसिमीको दाहिने आँखामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । चोटका कारण बोल्नसमेत नसक्ने अवस्था रहेकाले उनलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ । अन्य घाइतेहरूको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


