
झापा, १२ असोज । शिवसताक्षी नगरपालिकाले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार गरेको स्थानीय पाठ्यपुस्तक ‘शिवसताक्षीको पहिचान’ विमोचन गरेको छ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेलगायत वडाध्यक्षहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
स्थानीय परिवेश, मौलिकता, संस्कृति र नगरको पहिचानलाई विद्यार्थीसमक्ष परिचित गराउने उद्देश्यले पाठ्यपुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ। पहिलो चरणमा कक्षा १ देखि ३ सम्मका लागि पुस्तक तयार गरिएको हो।
नगरपालिकाका शिक्षा अधिकृत छवि ढकालका अनुसार क्रमशः थप कक्षाका लागि स्थानीय पाठ्यसामग्री तयार गर्दै कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी भइरहेको छ।
पुस्तकमा शिवसताक्षी नगरपालिकाभित्रका पर्यटकीय तथा धार्मिक स्थल, जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा, स्थानीय मौलिकता तथा नगरको समग्र परिचय समेटिएको छ। विद्यार्थीले विद्यालय तहबाटै आफ्नो गाउँ, समुदाय र स्थानीय परिवेशबारे जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिइएको छ।
शिक्षा अधिकृत ढकालले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो समुदाय र नगरसँग जोड्न सहयोग पुग्ने बताउनुभयो। स्थानीय इतिहास, कला, संस्कृति, प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीय स्थल र सामाजिक विविधताबारे अध्ययन गर्दा विद्यार्थीमा आफ्नो ठाउँप्रतिको अपनत्व र पहिचानको भावना विकास हुने अपेक्षा गरिएको उहाँको भनाइ छ।
नगरपालिकाले स्थानीय आवश्यकता र परिवेशलाई समेटेर शिक्षा प्रणाली अघि बढाउने क्रममा स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ। आगामी चरणमा अन्य कक्षाका लागि आवश्यक सामग्री तथा पाठ्यपुस्तक तयार गरी कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।


