
बिर्तामोड, १२ असोज । बिर्तामोड नगरपालिकाले सामुदायिक तथा घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको निःशुल्क खोप लगाउने अभियान सुरु गरेको छ।
विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्राविधिकलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै अभियानको उद्घाटन गर्नुभयो।
असोज १२ गतेदेखि सुरु भएको अभियान असोज २१ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुनेछ। शाखाका अनुसार तोकिएको तालिकाअनुसार प्रत्येक वडाका विभिन्न स्थानमा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ। अभियानअन्तर्गत यस वर्ष २ हजार सामुदायिक कुकुर तथा बिरालोलाई खोप लगाउने लक्ष्य राखिएको शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनुभयो।
अभियानको दोस्रो दिन अर्थात् असोज १३ गते वडा नम्बर १० का विभिन्न क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख प्रसाईंले घरपालुवा कुकुर तथा बिरालोलाई अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो। उहाँले अभियानबाट सेवा लिन र छरछिमेकमा समेत खोपसम्बन्धी जानकारी गराउन नगरवासीलाई आग्रह गर्नुभयो।
रेबिज संक्रमित कुकुरको टोकाइबाट मानिससँगै घरपालुवा तथा अन्य जनावरसमेत जोखिममा पर्ने भएकाले नगरपालिकाले हरेक वर्ष रेबिजविरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा कार्यपालिका सदस्य संगिता शिवा, वडा नम्बर ४ का वडासदस्य उमेश राउतलगायतको उपस्थिति थियो।


