
गौरादह, १३ असोज । झापाको गौरादह नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ ।
नगरपालिकाले नगरको सभाहलमा एक कार्यक्रम आयोजना गरी ७ उत्कृष्ट विद्यालय, १२ सेवा निवृत्त तथा दीर्घ सेवा प्रदान गरेका शिक्षक, ६ उत्कृष्ट शिक्षक र २२ उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । नगरपालिकाले उत्कृष्ट माध्यमिक विद्यालयतर्फ श्री जनता माध्यमिक विद्यालय गौरादह १, श्री माउण्ट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालय र श्री विद्यादेवी अंग्रेजी माध्यमिक विद्यालय, श्री इमिनेन्ट कञ्चजंघा अंग्रेजी माध्यमिक विद्यायललाई सम्मान गरेको छ ।
त्यस्तै, आधारभूत तहतर्फ श्री दुर्गादेवी आधारभूत विद्यालय, श्री मदन आश्रित आधारभूत विद्यालय र श्री जनता आधारभूत विद्यालय गौरादह ६ लाई उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको छ । उत्कृष्ट विद्यालयलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको नगर शिक्षा अधिकृत विदुर आचार्यले जानकारी दिनुभयो ।
नगर शिक्षा अधिकृत आचार्यका अनुसार २०८२ सालको एसईई परीक्षामा ४ जीपीएसहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा सम्मान गरिएको हो । कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत रही सेवा निवृत्त भएका तथा दीर्घ सेवा प्रदान गरेका १२ जना शिक्षकलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी, माध्यमिक तथा आधारभूत तहमा उत्कृष्ट जीपीए हासिल गर्ने २२ जना विद्यार्थीलाई जनही ९ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विभिन्न तहमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना शिक्षकलाई समेत नगदसहित सम्मान गरेको छ। जसअनुसार उत्कृष्ट कर्मचारी तथा बालशिक्षकलाई जनही ११ हजार, आधारभूत तह कक्षा १ देखि ५ सम्मका शिक्षकलाई जनही १२ हजार, कक्षा ६ देखि ८ सम्मका शिक्षकलाई जनही १३ हजार र कक्षा ९ देखि १२ सम्मका उत्कृष्ट शिक्षकलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सम्मानित सबै शिक्षक तथा विद्यार्थीलाई नगरप्रमुख क्षेत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, नगर शिक्षा अधिकृत विदुर आचार्यलगायत वडाध्यक्षहरूले सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर शिक्षा अधिकृत विदुर आचार्यले गर्नुभएको थियो । गौरादह नगरपालिकाभित्र हाल ३२ वटा सामुदायिक र २१ वटा संस्थागत गरी ५३ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।


