
झापा, १३ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने प्रलोभन देखाई ९४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जना पीडितबाट कुल ८५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । रकम असुल गरेपछि उनी सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२६ बाट नियन्त्रणमा लिइएको हो ।
त्यस्तै, तामाङले जापान पठाइदिने भन्दै एक जना व्यक्तिबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलबाट पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।


