
सन्तोष शर्मा
झापा, १३ असोज । पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालको व्यापार घाटा २९ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को भदौ महिनाको तुलनामा चालू आवको भदौ महिनामा ७ अर्ब ८१ करोड ३४ लाख ५० हजार ३४० रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । गत आर्थिक वर्ष २०८२/८३ को भदौमा व्यापार घाटा ५ अर्ब ५८ करोड २८ लाख ९६ हजार १३० रुपैयाँ रहेको थियो ।
चालु आवको भदौमा पूर्वी नाका काँकरभिट्टाबाट १३ अर्ब ९३ करोड ४ लाख ७४ हजार २४० रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको भदौमा यस्तो आयात ८ अर्ब ७३ करोड १९ लाख ९० हजार १२० रुपैयाँ थियो ।
गत आव २०८२÷८३ को भदौ महिनामा निर्यात ३ अर्ब १४ करोड ९० लाख ९३ हजार ९९० रुपैयाँबाट बढेर ६ अर्ब ११ करोड ७० लाख २३ हजार ९०० रुपैयाँ पुगेको छ ।
पूर्वीनाका काँकरभिट्टाबाट एलपी ग्यासको आयात वृद्धि
यता, खाना पकाउने एलपी ग्यासको आयातमा भारी वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनाको तुलनामा आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा ५२.२९ प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०८२/८३ को भदौ महिना २० लाख ६८ हजार ७३१ किलोग्राम एलपी ग्यास आयात भएको थियो भने चालू आवको भदौ महिनामा ३४ लाख ३५ हजार ९०० किलोग्राम ग्यास आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांकमा उल्लेख छ । ग्यास आयातबाट प्राप्त राजस्व असुली ३ करोड ८१ लाखबाट बढेर ७ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यो १०९.५९ प्रतिशत वृद्धि हो ।
चालु आर्थिक वर्षको भदौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट एलपी ग्याससँगै पेट्रोल, डिजेल, मट्टितेलको आयातमासमेत वृद्धि भएको छ ।
गत आव २०८२/८३ को भदौको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात ७ हजार ४४८ किलोलिटरबाट बढेर ११ हजार ६३२ किलोलिटर पुगेको छ । ५८.७१ प्रतिशत अर्थात् ४ हजार १८४ किलोलिटरले आयात बढेको हो । पेट्रोलको आयात मूल्यसमेत ६५ करोड ६९ लाख रुपैयाँबाट बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । तर, राजस्व असुली भने ४१ करोड ६२ लाखबाट घटेर ३८ करोड ७६ लाख रुपैयाँमा झरेको कार्यालयले जनाएको छ ।
त्यस्तै, डिजेलको आयात ४ हजार ३२८ किलोलिटरबाट बढेर ५ हजार ६४ किलोलिटर पुगेको छ । आयात मूल्य ४० करोड ३१ लाखबाट बढेर ९१ करोड १५ लाख रुपैयाँ पुगे पनि राजस्व असुली १६ करोड ९२ लाखबाट घटेर १५ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ ।
एटीएफको आयात भने ६९६ किलोलीटरबाट घटेर ६२८ किलोलीटर पुगेको छ । तर, आयात मूल्य र राजस्व असुली बढेको छ । एटीएफबाट उठेको राजस्व ९७ लाख ६८ हजारबाट बढेर १ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
मट्टितेलको आयात १२० बाट बढेर २०४ किलोलीटर पुगेको छ भने राजस्व ३० लाख ३७ हजारबाट बढेर ५७ लाख ४६ हजार रुपैयाँ पुगेको छ । मट्टीतेलको राजस्व ८९.२१ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।


