
इनरुवा, १३ असोज । सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का मनिष योगी र पुजन श्रेष्ठ, इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझी तथा इटहरी उपमहानगरपालिका–१२ खनारका २० वर्षीय अजयकुमार चौधरी र इटहरी उपमहानगरपालिका–११ का ३० वर्षीय सुमित गुरुङ रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शङ्का लागेर सुरज माझी, तोरण माझी र मनिस माझीलाई खानतलासी तथा चेकजाँच गर्दा मलद्वारबाट लागुऔषध ब्राउन सुगर ५.४९ ग्राम बरामद भएको थियो । उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, धरान उपमहानगरपालिका–१९ गैरीगाउँमा २३ वर्षीय पुजन श्रेष्ठको कोठामा चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १.१३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।
यसैगरी, धरान उपमहानगरपालिका–१९ सुमन मार्गस्थित ३० वर्षीय मनिष योगीको घरकोठामा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर ५.२७ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । योगीलाई लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।
उता, इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा २० वर्षीय अजयकुमार चौधरी र इटहरी उपमहानगरपालिका–११ का ३० वर्षीय सुमित गुरुङलाई खानतलासी तथा चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर ०.३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।


