
झापा, १३ असोज । दसैँको मुखमा असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ । लामो समयसम्मको बर्खे झरी र वर्षाजन्य विपद्बाट प्रभावित सर्वसाधारणमा दसैँअघि पुनः भारी वर्षा हुने खबरले चिन्ता बढाएपछि मौसमसम्बन्धी जानकारी खोज्ने क्रम बढेको थियो ।
सामाजिक सञ्जालमा फैलिएको उक्त सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कुनै पनि स्थानमा असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने पूर्वानुमान नगरिएको स्पष्ट पारेको हो । महाशाखाले हालको मौसमी गतिविधिमा ठूलो परिवर्तन नदेखिएको जनाउँदै तथ्यहीन तथा भ्रामक सूचनाको पछि नलाग्न र अफवाह नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यद्यपि, मौसममा सामान्य बदलाव आउने र केही क्षेत्रमा झरी पर्ने सम्भावना भने रहेको मौसम विज्ञ विनोद पोखरेलले बताएका छन् । उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि घाम कम लाग्ने तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुन सक्ने देखिएको छ । पोखरेलका अनुसार विशेषगरी आइतबारदेखि दसैँको घटस्थापनासम्म मौसम बढी प्रभावित हुन सक्नेछ । उक्त अवधिमा आकाशमा बदली हुने, केही स्थानमा झरी पर्ने तथा तापक्रम घटेर चिसो महसुस हुन सक्ने उनको विश्लेषण छ ।
माथिल्लो वायुमण्डलमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा हुन सक्ने र औसतभन्दा बढी चिसो महसुस हुन सक्ने उनले बताएका छन् । यसअघि लामो समयसम्म परेको वर्षाका कारण जनजीवन प्रभावित भएकाले भीषण वर्षासम्बन्धी हल्लाले सर्वसाधारणमा थप त्रास सिर्जना गर्न सक्ने भन्दै मौसमसम्बन्धी सूचना आधिकारिक स्रोतबाट मात्र लिन विज्ञहरूले सुझाव दिएका छन् ।


