
झापा, १४ असोज । देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार अहिले हिमाली भूभागमा आंशिक बदली तथा पहाडी र तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ। केही स्थानमा भने आंशिक बदली देखिएको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले मौसममा हुने परिवर्तनका कारण यात्रा तथा दैनिक कामकाजमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


