सुदूरपश्चिम, १४ असोज । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई परिपत्र गर्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा १० मा रहेको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटर वरिपरि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था छ।
मन्त्रालयका अनुसार उक्त कानुनी व्यवस्था कार्यान्वयनका लागि यसअघि नै २०७९ माघ २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ जारी गरी स्वास्थ्य निर्देशनालयलाई कार्यान्वयनका लागि निर्देशन दिइएको थियो।
तर ऐन तथा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै मन्त्रालयले पुनः कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले ऐन तथा मापदण्ड कार्यान्वयन नभएकाले पुनः ताकेता गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ऐन तथा मापदण्ड कार्यान्वयनमा कडाइ गर्न स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको हो।
अब सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि सञ्चालनमा रहेका निजी स्वास्थ्यसम्बन्धी व्यवसायको अवस्थाबारे अनुगमन गरी कानुनी व्यवस्था कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।



