
एजेन्सी । डाक्टरले शल्यक्रियाका क्रममा बिरामीको शरीरभित्र लुकेका क्यान्सरका कोषिकालाई चम्किरहेको देख्न सक्ने प्रविधिको विकासमा नाइजेरियाली वैज्ञानिक प्रोफेसर सामुएल एचिलेफूले अभूतपूर्व चामत्कारिक योगदान गरेका छन् ।
उनले विकास गरेको क्यान्सर देखिने चश्माले निकट–अवरक्त प्रतिदीप्ति प्रयोग गरेर क्यान्सरयुक्त कोशिका पहिचान गर्न शल्यचिकित्सकलाई सहयोग गर्ने भएको छ । यस प्रविधिमा विशेष फ्लोरोसेन्ट आणविक प्रोब प्रयोग गरिन्छ । जसले ट्युमरको तन्तुमा संकेत उत्पादन गर्छ, जसलाई आँखाले प्रत्यक्ष देख्न नसके पनि विशेष चश्मा वा शल्यक्रिया सम्बन्धी इमेजिङ प्रणालीले पहिचान गर्न सक्छ । यसले शल्यक्रियाका क्रममा क्यान्सर पहिचान गर्न र हटाउनु पर्ने तन्तु बारे थप वास्तविक जानकारी दिन सक्छ ।
वाशिंगटन युनिभर्सिटी, स्कूल अफ् मेडिसिनमा प्रो. एचिलेफू र उनको टोलीले विकास गरेको क्यान्सर भिजन गगल्स÷कन्ट्रास्ट एजेन्ट प्रयोग गरेर स्तन क्यान्सरको शल्यक्रियामा वास्तविक–समयमा ट्युमर देखिने सम्बन्धी प्रयोगशाला परीक्षण समेत गरिएको थियो ।
एचिलेफू अहिले यूटी साउथवेष्टर्न मेडिकल सेन्टरमा बायोमेडिकल इञ्जिनीयरिङका प्रोफेसर तथा अध्यक्ष पनि छन् । उनले ७० भन्दा बढी यूएस. पेटेन्ट पनि प्राप्त गरिसकेका छन् र क्यान्सर इमेजिङ तथा इमेज–गाइडेड सर्जरीमा अनुसन्धान गरिरहेका छन् । यो प्रविधिले भविष्यमा शल्यक्रियाका क्रममा आँखाले छुट्याउन सक्ने क्यान्सरका तन्तुहरू पहिचान गर्न उल्लेख्य सहयोग पु¥याउन सक्छ । विज्ञानले क्यान्सरसँग लड्ने अर्को नयाँ बाटो खोलेको छ ।


