
झापा, १४ असोज । कोशी प्रदेशका विभिन्न क्षेत्रमा सक्रिय महिलाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वासलाई केन्द्रमा राखिएको ‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करण अन्तिम चरणमा पुगेको छ।
ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा गृहिणीदेखि चिकित्सक, बैंकर, शिक्षिका, सञ्चारकर्मी, व्यवसायी, उद्यमी तथा ब्युटिसियनसम्मका १९ महिला सहभागी छन्।
आयोजकका अनुसार प्रतियोगितामा परम्परागत सौन्दर्य प्रतियोगिताभन्दा फरक ढंगले महिलाको क्षमता, व्यक्तित्व, आत्मविश्वास, प्रतिभा र सामाजिक सोचलाई प्राथमिकता दिइएको छ। बाहिरी सौन्दर्यलाई मात्र आधार नबनाई प्रतियोगीको प्रस्तुति, व्यक्तित्व, आत्मविश्वास, प्रतिभा तथा सामाजिक दृष्टिकोणलाई मूल्यांकनको आधार बनाइएको आयोजकले जनाएको छ।
प्रतियोगिताको निर्णायक चरणका रूपमा असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा ग्रान्ड फिनाले आयोजना हुँदैछ। फिनालेबाट १९ प्रतियोगीमध्ये तेस्रो संस्करणको ‘मिसेस पूर्वेली आइकन’ चयन गरिनेछ।
यस संस्करणको अर्को आकर्षण प्रतियोगीहरूको भिडियो डकुमेन्ट्री रहेको आयोजकले जनाएको छ। डकुमेन्ट्रीमार्फत प्रतियोगीहरूको व्यक्तिगत जीवन, पेशागत यात्रा, संघर्ष, उपलब्धि, रुचि तथा समाजमा उनीहरूले पुर्याएको योगदानलाई दर्शकमाझ प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यसँगै उनीहरूको क्षमता, अनुभव, आत्मविश्वास र सामाजिक योगदानलाई समेत उजागर गर्ने उद्देश्य राखेको छ।


