
झापा, १४ असोज । लगातार दुई दिन घटेको सुनको भाउ आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घटेको थियो भने मंगलबार थप ३ हजार ८ सय रुपैयाँ घटेको थियो। दुई दिनमा सुनको भाउ कुल ८ हजार ८ सय रुपैयाँले घटेपछि आज पुनः वृद्धि भएको हो। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको मूल्य तोलामा २ सय ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो। त्यसअघि सोमबार पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँले घटेको थियो।
यसैबीच, नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गएको माघ १५ गते कायम भएको थियो। त्यस दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य पनि माघ १५ गते नै कायम भएको थियो। उक्त दिन चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। माघ १८ गते चाँदीको भाउ तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावट रहेको महासंघले जनाएको छ।


