
झापा, १४ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा मौज्दात रकम १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत विभिन्न नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ५ करोड ९९ हजार ७२९ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ । यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर मौज्दात रहेको छ ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा व्यवसायीबाट कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


