
झापा, १५ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
राति देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ । महाशाखाले आगामी दिनमा मौसममा हुने परिवर्तन तथा वर्षाको अवस्थाबारे नियमित पूर्वानुमान हेर्न आग्रह गरेको छ ।


