
झापा, १५ असोज । मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वमा चारआली र धुलाबारी क्षेत्रमा गरिएको अनुगमनका क्रममा स्वास्थ्य संस्था तथा क्लिनिकहरू आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको हो।
अनुगमनका क्रममा चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले करिब एक वर्षदेखि आवश्यक नवीकरण नगरी सञ्चालन गरिरहेको भेटिएपछि सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मनोकामना अस्पताललाई दर्ता तथा नवीकरणका लागि यसअघि पटकपटक पत्राचार गरिएको थियो। तर, सम्बन्धित पक्षले बेवास्ता गरेपछि कानुनअनुसार कारबाही गरिएको उनले बताए।
त्यस्तै, धुलाबारीमा सञ्चालित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला ९ल्याब० तथा क्लिनिक दर्ता नगरी सञ्चालन गरेको पाइएको थियो। दर्ता प्रक्रिया पूरा नगरेका कारण ती संस्थामा समेत सिलबन्दी गरिएको नगरपालिकाले जनाएको छ।
अनुगमनका क्रममा प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधिसमेत फेला परेपछि ती औषधि जफत गरिएको छ। यसैगरी रोहन मेडिकल र मनकामना फार्मेसीबाट पनि म्याद गुज्रिएका औषधि भेटिएपछि बरामद गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार कानुनविपरीत सञ्चालन भएका स्वास्थ्य संस्थालाई नगरपालिकाले जरिवाना गर्नेछ। म्याद गुज्रिएका औषधि बिक्री तथा भण्डारणसँग सम्बन्धित विषयमा थप कारबाहीका लागि औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यालय विराटनगरमा पत्राचार गरिनेछ।
उनले स्वास्थ्य संस्था, क्लिनिक तथा प्रयोगशालाले कानुनअनुसार आवश्यक दर्ता तथा नवीकरण प्रक्रिया पूरा गरेपछि मात्र सिलबन्दी खोलिने बताए।


