
झापा, १५ असोज । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार २०२५ को सेप्टेम्बरको तुलनामा २०२६ को सेप्टेम्बरमा नेपाल आउने पर्यटकको संख्या १२.१ प्रतिशतले बढेको हो।
अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए। २०२६ को सेप्टेम्बरमा भने यो संख्या बढेर ८८ हजार २४८ पुगेको छ।
समीक्षा अवधिमा नेपाल आउने पर्यटकको संख्या ९ हजार ५३७ जनाले बढेको देखिन्छ।
देशगत रूपमा हेर्दा सेप्टेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट १७ हजार ४२५ जना आएका छन्। कुल पर्यटक आगमनमा भारतीय पर्यटकको हिस्सा १९.७५ प्रतिशत रहेको छ।
त्यस्तै, चीनबाट ११ हजार २१२ जना पर्यटक नेपाल आएका छन्। कुल आगमनमा चिनियाँ पर्यटकको हिस्सा १२.७१ प्रतिशत रहेको छ। अमेरिकाबाट ८ हजार २९९ जना पर्यटक आएका छन्, जुन कुल आगमनको ९.४० प्रतिशत हो।
क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाबाट ३० हजार ८५ जना आएका छन्। त्यस्तै, अन्य एसियाली मुलुकबाट १९ हजार ८८८, युरोपबाट १५ हजार १४८, ओसिनियाबाट ५ हजार ४२२ तथा दक्षिण र उत्तर अमेरिकाबाट १० हजार १०७ जना पर्यटक नेपाल आएका छन्।
यसैगरी, मध्यपूर्वबाट २ हजार ६०६, अफ्रिकाबाट ४२४ र अन्य क्षेत्रबाट ४ हजार ५६८ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ।
पर्यटक आगमनमा भएको वृद्धिले नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय सुधार हुँदै गएको संकेत गरेको छ।


