
झापा, १५ असोज । झापाको दमकबाट भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज १४ गते बेलुका करिब ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गरेको थियो ।
प्रहरीले BR37J2708 नम्बरको भारतीय मोटरसाइकलसहित भारतको किसनगञ्ज जिल्ला, खनियाबाद वडा नम्बर–३, फत्तेपुर बस्ने २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रवेद आलमलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले अब्दुल माजिदको साथबाट भारतीय रुपैयाँ ५०० दरका ७० थान गरी जम्मा ३५ हजार रुपैयाँ बरामद गरेको छ । बरामद नोटमध्ये अधिकांशको नम्बर दोहोरिएको पाइएपछि नक्कली नोट भएको आशंकामा थप परीक्षणका लागि विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा पठाइएको थियो ।
नेपाल राष्ट्र बैंक, विराटनगरबाट प्राप्त परीक्षण प्रतिवेदनअनुसार बरामद सबै ७० थान भारतीय रुपैयाँका नोट नक्कली रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ परेका दुवै जनाविरुद्ध मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


