
झापा, १६ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले हाल देशभर आंशिक बदली रहेको छ। बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षासम्मको सम्भावना रहेको छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ।
देशका तराई भूभागमा आंशिक बदली रहने र बिहानीपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।


