
हुम्ला, १६ असोज । हुम्लाको उत्तरी सीमा नाका हिल्सामा भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्। हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएका हुन्।
अध्यागमन अधिकृत विमल पौडेलका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक छन्। अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका उनीहरू गत शुक्रबार हिल्सा पुगेका थिए।
हिमपातपछि चिनियाँ पक्षले कैलाश मानसरोवर दर्शनका लागि आवतजावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने जानकारी दिइएको छ।
हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बल नेपाल नं। ४४ गुल्मका डीएसपी नन्दबहादुर साउदले बताउनुभयो। नारा लेकमा जमेको हिउँका कारण नेपालतर्फको सडक खुलाउन चुनौती भएको छ। हिल्सामा एउटा मात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समेत समस्या रहेको प्रहरीले जनाएको छ।
यस वर्ष हिल्सानाका हुँदै हालसम्म ६ हजार १० जनाले कैलाश मानसरोवर दर्शन गरेका छन्। दर्शनार्थीमा अधिकांश भारतीय नागरिक रहेका छन्। भारी हिमपातका कारण सीमा आवतजावतसँगै स्थानीय व्यापार र जनजीवनसमेत प्रभावित भएको छ।


