
झापा, १६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका ६ हजार ७४३ वडामध्ये आज ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो।
समितिका संयोजक एकराज पोखरेलका अनुसार कोशी प्रदेशमा १ हजार १५७ मध्ये ५७७, मधेसमा १ हजार २७१ मध्ये ४०२, बागमतीमा १ हजार १२१ मध्ये ५६३ र गण्डकीमा ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको छ।
यस्तै, लुम्बिनीका ९८३ मध्ये ५५०, कर्णालीका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिमका ७३४ मध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
बाँकी वडामा असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ। बाढी–पहिरोका कारण रसुवामा रोकिएको तथा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण बागलुङमा रोकिएको अधिवेशन असोज १६ गते गर्ने तयारी छ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने तय भएको छ।


