
झापा, १६ असोज । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोलियम पदार्थ बिक्री गर्ने आउटलेटबाट खाना पकाउने ग्यास (एलपीजी) समेत बिक्री वितरण गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यास आपूर्तिमा असहज अवस्था आए सुरक्षा निकायमार्फत समेत वितरण सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा सचिव तामाङले सुरक्षा निकायले हाल पेट्रोलियम पदार्थ बिक्री गर्दै आएकाले उनीहरूका आउटलेटबाट ग्यास वितरणको व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।
उहाँका अनुसार पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्र राख्न सके आपत्कालीन अवस्थामा आपूर्ति व्यवस्थापन सहज हुनेछ । सचिव तामाङले सम्भावित ग्यास अभावलाई समेत ध्यानमा राखेर आवश्यक तयारी र प्रबन्ध मिलाउन लागिएको बताउनुभयो ।


