
झापा, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक कारबाही गर्न देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लामा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएका समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मन्त्रालयले चासो देखाएको हो।
मन्त्रालयले जारी गरेको परिपत्रमा शिक्षकको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा रहेको कानुनी व्यवस्थाविपरीत हुने उल्लेख गरिएको छ।
मन्त्रालयले आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकको पहिचान गरी आवश्यक खोजबिन तथा निगरानी गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
त्यस्ता शिक्षकलाई स्थानीय तहसँग समन्वय गरी शिक्षा नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले शिक्षकहरूलाई राजनीतिक दलका कार्यक्रम तथा गतिविधिमा संलग्न हुने कार्य नगर्न र प्रचलित कानुनी व्यवस्था तथा आचारसंहिताको पालना गर्नसमेत आग्रह गरेको छ।


