
झापा, १७ असोज । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
तराई भूभागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।


