
अर्जुनधारा, १७ असोज । सालबारी–मिलडाँडा युवा परिवार अर्जुनधारा–११ को आयोजनामा प्रथम सालबारी–मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
अर्जुनधारा–११ स्थित देउनिया खेलमैदानमा हुने प्रतियोगितामा आठ वटा भेट्रान्स टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेचोक भेट्रान्स पृथ्वीनगर र झिलझिले भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ।
असोज २४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेताले नगद ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछ।
प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्लेयर अफ द म्याचलाई नगद २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही नगद ३ हजार ५ सय रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ९० हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले बताए। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडी तथा फुटबलप्रेमीलाई उत्साहित गर्नुका साथै अर्जुनधारामा भेट्रान्स फुटबलको गतिविधिलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


