
झापा, १७ असोज । यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको हो।
महाशाखाका अनुसार मनसुनी वायु क्रमशः कमजोर हुँदै गइरहेको छ। त्यसैले आगामी केही दिनमा नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ।
मनसुन बहिर्गमनसँगै मौसमको प्रणालीमा क्रमिक परिवर्तन आउने भएकाले महाशाखाले आगामी दिनमा पश्चिमी वायुको सम्भावित प्रभावबारे समेत नियमित अनुगमन गरिरहेको जनाएको छ।
महाशाखाले मनसुन पूर्ण रूपमा बाहिरिने क्रम र त्यसपछि विकसित हुने मौसमी प्रणालीका आधारमा नियमित मौसम पूर्वानुमान तथा सूचना जारी गर्ने जनाएको छ।


