
झापा, १७ असोज । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट प्रतिबन्धित भारतीय चिठ्ठा तथा नगद रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टा बस्ने ४५ वर्षीय गोलु शेर्पा रहेका छन् ।
प्रहरीका अनुसार असोज १७ गते बिहान करिब ११ बजे शेर्पाले आफ्नै घरमा प्रतिबन्धित चिठ्ठा राखी बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले शेर्पाको घरमा खानतलासी गर्दा ‘रोयल’ लेखिएको भारतीय चिठ्ठा १३ बन्डल बरामद गरेको जनाएको छ । प्रत्येक बन्डलमा १०० वटा चिठ्ठा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, उनको साथबाट नेपाली नगद रु ३६ हजार ५ सय समेत बरामद गरिएको छ। बरामद रकममा रु १ हजार दरका १८ थान, रु ५ सय दरका २४ थान, रु १ सय दरका ६१ थान र रु ५० दरका ८ थान नोट रहेका छन् । चिठ्ठा तथा नगद बरामद गरी शेर्पालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


