
सुधीर सापकोटा
हाम्रो सानो प्रयासले कसैको संसार जोगिन सक्छ भने त्योभन्दा ठूलो धर्म र सन्तुष्टि जीवनमा अरू के नै हुन सक्छ र ?
आज २०८३ साल असोज १७ गते, बिर्तामोडस्थित बीएनसी हस्पिटलको ब्लड बैंकमा रक्तदान गरिरहँदा मनमा एउटा बेग्लै अनुभूति भइरहेको थियो। इलाम सदरमुकामका एक जना भाइ आफ्ना बिरामी बुवाको उपचारका लागि रगतको खोजीमा भौँतारिरहनुभएको रहेछ। म आफैँ पनि सूर्योदय नगरपालिका–३, इलामको बासिन्दा भएकाले आफ्नै जिल्लाका एक अभिभावकको जीवन बचाउने अवसर मिल्दा मनमा आत्मीयता र खुसीको सीमा रहेन।
उहाँका लागि आफ्नो ‘ए पोजेटिभ’ रगत दान गर्दै गर्दा गन्ती गर्दा मेरो २५ औँ पटकको रक्तदान (सिल्भर जुब्ली) पनि पूरा भएको छ।
२५ औँ पटकसम्मको यो यात्रामा आइपुग्दा मनमा एउटै विचार निरन्तर घुमिरहन्छ—
“यदि म पूर्ण रूपमा स्वस्थ र तन्दुरुस्त छु र मेरो शरीरमा बगेको थोरै रगतले कसैका बुवाको ज्यान बचाउन सक्छ, कसैको काख रित्तिनबाट जोगाउन सक्छ र एउटा परिवारको मुस्कान फर्काउन सक्छ भने म किन रक्तदान नगर्नेरु”
रक्तदान केवल रगतको केही युनिट हस्तान्तरण गर्नु मात्र होइन, यो त एक मानिसले अर्को मानिसलाई दिने जीवनको आशा हो। रक्तदान गरेर अस्पतालबाट बाहिर निस्कँदै गर्दा मनमा जुन आत्मसन्तुष्टि मिल्छ, त्यसको तुलना कुनै भौतिक सुखसँग गर्न सकिँदैन।
आफ्नै जिल्लाका ती बिरामी बुवाको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछु। मेरो रगत उहाँको उपचारमा उपयोगी बनोस् र उहाँ चाँडै पूर्ण रूपमा स्वस्थ भएर आफ्नो परिवारमा मुस्कुराउँदै फर्कन सकून् भन्ने कामना छ।
ईश्वरले मलाई सधैँ स्वस्थ राखून्, ताकि शरीरमा सास र तागत रहुन्जेल रक्तदानको यो यात्रा निरन्तर चलिरहोस्।
यदि तपाईं पनि स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। तपाईंको एक थोपा रगत कसैका लागि पूरा संसार हुन सक्छ।


