
अर्जुनधारा, १७ असोज । सालबारी–मिलडाँडा युवा परिवारको आयोजनामा शनिबारदेखि सुरु भएको प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगितामा झिलझिले भेट्रान्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ।
अर्जुनधारास्थित देउनिया खेलमैदानमा भएको उद्घाटन खेलमा झिलझिले भेट्रान्सले ज्ञानेचोक भेट्रान्स फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
झिलझिलेको जितमा प्रकाश शेर्माले खेलको २०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि कप्तान जसु राईले गोल थप्दै अग्रता २–० बनाए।
श्यामबहादुर लिम्बूले ३५औँ मिनेटमा गोल गरेपछि झिलझिले ३–० ले अघि बढ्यो। दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दिएको झिलझिलेका कप्तान राईले ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सहज जित दिलाए।
खेलभर झिलझिलेले बलमाथि राम्रो नियन्त्रण राख्दै आक्रामक प्रदर्शन गरेको थियो। ज्ञानेचोकले गोलका केही अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन।
खेलको प्लेयर अफ द म्याच झिलझिले भेट्रान्सका कप्तान जसु राई घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए। आयोजक समितिका संयोजक नन्दलाल खतिवडाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कोषाध्यक्ष किरण जवेगुले स्वागत गरेका थिए।
कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुलीले अर्जुनधारा नगरपालिका खेलकुद क्षेत्रमा अब्बल रहेको बताउँदै खेलाडी तथा अफिसियलको योगदानले नगरको गरिमा अझ उचाइमा पुगेको धारणा राखिन्। सहआयोजक अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामले प्रतियोगिताको औचित्यमाथि प्रकाश पारेका थिए।
प्रतियोगिताअन्तर्गत आइतबार आयोजक मिलडाँडा भेट्रान्स र चन्द्रगढी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसअघि नेपाल पुलिस झापा र शनिश्चरे एफसीबीच मैत्रीपूर्ण खेल हुनेछ।


