
झापा, १८ असोज । आगामी मंसिरमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै झापा जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय खेलाडी छनोटको तयारी तीव्र बनाएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले सूचना जारी गर्दै असोज २० देखि २५ गतेसम्म जिल्लास्तरीय खेलाडी छनोट सम्पन्न गर्न निर्देशन दिएपछि झापा जिल्ला खेलकुद विकास समितिले खेलाडी, सम्बन्धित खेलका संघ–संस्था तथा प्रशिक्षक–व्यवस्थापकलाई दर्ताका लागि आह्वान गरेको हो । समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङका अनुसार असोज १९ गतेसम्म खेलाडी तथा टिम दर्ता गर्न सूचना जारी गरिएको छ । अहिले समितिमा खेलाडी तथा टिम दर्ताको काम धमाधम भइरहेको उनले बताए ।
नेम्बाङका अनुसार असोज २० गतेदेखि झापाका विभिन्न स्थानमा प्रतिस्पर्धा गराएर जिल्लाबाट राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गरिनेछ । दशौँ राष्ट्रिय खेलकुदका लागि ३२ वटा खेल विधा तय गरिए पनि झापामा भने २८ वटा विधामा खेलाडी छनोट गरिने समितिले जनाएको छ ।
समितिका अध्यक्ष शेखर कँडेलका अनुसार झापामा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फुटबल, फुल कन्ट्याक्ट कराते, हक्की, आईटीएफ तेक्वान्दो, जुडो, कबड्डी, कराते, खो–खो, रग्बी, सुटिङ, पौडी, टेबल टेनिस, तेक्वान्दो, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, ई–स्पोर्ट्स र सेपाक्ताक्रो विधामा खेलाडी छनोट गरिनेछ । जिल्लाबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगिताका लागि प्रतिस्पर्धी टोली तयार गर्ने उद्देश्यले तयारीलाई तीव्रता दिइएको अध्यक्ष कँडेलले बताए ।


