
झापा, १९ असोज । बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापामा स्वर्णविन्दु प्राशन कार्यक्रम सुरु गरिएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, झापाले सोमबारदेखि प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. विजय श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको थियो। केन्द्रका अनुसार पहिलो चरणको कार्यक्रमबाट ५०० भन्दा बढी बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको छ। बालबालिकाको उमेर, स्वास्थ्य अवस्था र आवश्यक विवरण अभिलेख राखेर स्वर्णविन्दु प्राशन गराउने व्यवस्था गरिएको केन्द्रका वरिष्ठ वैद्य खगेन्द्र भट्टराईले जानकारी दिए।
के हो स्वर्णविन्दु ?
आयुर्वेदमा स्वर्णविन्दुलाई बाल स्वास्थ्य प्रवर्द्धनसँग सम्बन्धित उपचार पद्धतिका रूपमा उल्लेख गरिएको छ। तोकिएको मात्रामा स्वर्ण भस्म, मह र ब्राह्मी घृतलाई विधिपूर्वक मिसाएर तयार गरिएको अर्धतरल मिश्रणलाई स्वर्णविन्दु भनिन्छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार आयुर्वेदको बालरोगसम्बन्धी मूल ग्रन्थ काश्यप संहिताको लेह अध्यायमा समेत स्वर्णविन्दु प्राशनको वर्णन गरिएको छ।
केन्द्रका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको पोषण, पाचन प्रणाली, स्मरण शक्ति तथा बौद्धिक क्षमताको विकासमा सहयोग गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ। यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत सहयोग पुग्ने बताइएको छ।
कार्यक्रम सञ्चालनका लागि केन्द्रले बालबालिकाको उमेर, जन्ममिति, ठेगाना, अभिभावकको नाम र सम्पर्क नम्बरलगायत विवरण समेटिएको स्वर्णविन्दु प्राशन कार्डको व्यवस्था गरेको छ।
बिरामी अवस्थामा प्राशन नगर्न आग्रह
केन्द्रले ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी तथा आकस्मिक स्वास्थ्य समस्या भएका बालबालिकालाई स्वर्णविन्दु प्राशन नगराउन आग्रह गरेको छ।
स्वर्णविन्दु प्राशन गराएपछि कम्तीमा आधा घण्टासम्म बालबालिकालाई केही पनि खान नदिनसमेत केन्द्रले सुझाव दिएको छ। कुनै असहजता वा दुष्प्रभाव देखिएमा तत्काल चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ।
केन्द्रले स्वर्णविन्दु प्राशनलाई बालबालिकाको नियमित खोपको विकल्पका रूपमा नलिन समेत स्पष्ट पारेको छ। राष्ट्रिय खोप कार्यक्रमअनुसार बालबालिकालाई नियमित खोप लगाउन छुटाउन नहुने केन्द्रको भनाइ छ।
स्वर्णविन्दुसँगै बालबालिकालाई सन्तुलित आहार खुवाउने, मोबाइल तथा टेलिभिजनमा लामो समय बिताउने बानीबाट टाढा राख्ने तथा खेलकुद र शारीरिक गतिविधिमा सक्रिय बनाउनेतर्फ अभिभावकले ध्यान दिनुपर्ने स्वास्थ्य केन्द्रले जनाएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा सञ्चालन हुने कार्यक्रममा बालबालिकालाई नियमित रूपमा सहभागी गराउने लक्ष्य राखिएको छ। कार्यक्रम सञ्चालनको जिम्मेवारी खगेन्द्र महराईले सम्हालेका छन्।
स्वास्थ्य केन्द्रका अनुसार कार्यक्रमको उद्देश्य औषधि सेवनमा मात्र सीमित नराखी बालबालिकाको समग्र स्वास्थ्य, पोषण र स्वस्थ जीवनशैलीप्रति अभिभावकलाई सचेत गराउनु पनि हो।


