झापा, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार राति सार्वजनिक गरिसकेको छ।

यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
यस्तो छ मतदान केन्द्र
निर्वाचन समितिका अनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्।
त्यस्तै, मतदान केन्द्र ‘ख’ खुलामञ्चमा रहनेछ। यहाँ कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशका प्रतिनिधिका लागि खुलामञ्चमा रहेको हिमाल हल तोकिएको छ भने मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चस्थित पहाड हल बाट मतदान गर्नेछन्।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
१५औँ महाधिवेशनले विधान संशोधनमार्फत कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।

