
झापा, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चार जनालाई पक्राउ गरेको छ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर रकम लिने र लामो समयसम्म झुक्याएपछि सम्पर्कविहीन हुने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा धनुषाका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुरकी २५ वर्षीया एलिसा अधिकारी, दार्चुलाका २९ वर्षीय हरिस सिंह महरा र बाराका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै पीडितहरूबाट रकम असुल गरेपछि विदेश नपठाई सम्पर्कविहीन हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


