
झापा, २२ असोज । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा कनकाई नगरपालिकाको सुरुङ्गा बजार क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा दुई पसल कारबाहीमा परेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापासहितको टोलीले असोज २१ गते बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कनकाईस्थित अधिकारी किराना पसलबाट म्याद नाघेको खाद्य वस्तु फेला परेको छ । उक्त पसलबाट ४ हजार १७० बराबरको म्याद नाघेको खाद्य वस्तु जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, कनकाईकै गोरखा स्पोर्टिङ कम्प्लेक्सलाई नापतौल (ढक–तराजु) सम्बन्धी प्रमाणपत्र समयमै नवीकरण गर्न निर्देशन दिइएको छ । अनुगमन गरिएका न्यू संगिता ज्वेलरी, पार्थिभरा देवी ज्वेलर्स, महालक्ष्मी डेरी पसल र लक्ष्मी पूजा भण्डार भने सामान्य अवस्थामा रहेको पाइएको प्रशासनले जनाएको छ ।
यसैगरी, अर्जुनधारा नगरपालिका–११ स्थित श्री राम अमिलो भण्डारबाट जम्मा रु. २ लाख २० हजार बराबरको अखाद्य अमिलोजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ । उद्योग सञ्चालकलाई तत्काल रु. ५० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको जनाएको छ ।


