
झापा, २२ असोज । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगर र गाँजासहित १३ जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–११ अल्का मार्गबाट मात्रै प्रहरीले १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो । असोज २१ गते दिउँसो लागूऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र सीआरभी केसलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो ।
पक्राउ पर्नेमा भारतको अररिया नरपतगन्जका २३ वर्षीय मनोहर यादव, सुनसरीको देवानगन्ज गाउँपालिका–२ का २२ वर्षीय अर्बिन्द्र कुमार यादव र २३ वर्षीय अनिल कुमार यादव रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त परिमाणको ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
अन्य स्थानबाट १० जना पक्राउ
झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषधसहित थप १० जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकले दमकका दिपक कुमार साह, निक्सल देवान, राहुल गुरुङ र कमल गाउँपालिका–४ का अरुण राईलाई ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ बाट प्रदेशिक अनुसन्धान समूह र प्रहरी चौकी तरहराबाट खटिएको टोलीले सोही स्थानका अमन चौधरीलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–३ का पुजन राजधामी, रमित राजधामी र समिर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१८ बाट भारत अररियाका प्रवेश कुमार साह र सुरेश कुमार साहलाई २४ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


