
झापा, २२ असोज । आयोजक सालबारी–मिलडाँडा भेट्रान्स फुटबल क्लब झापाको अर्जुनधारा–११ मा जारी प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको अन्तिम सेमिफाइनलमा उपाधिको दाबेदार बिर्तामोड भेट्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि भिडन्त पक्का गरेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा आयोजकका विनोद बान्तवाले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। उनले खेलको ३५औँ र ४१औँ मिनेटमा गोल गर्दै आयोजकलाई २–० को अग्रता दिलाएका थिए।
४१औँ मिनेटमा बान्तवाले गरेको आकर्षक चिप सट गोलरक्षकको हातमा सामान्य टच हुँदै गोलमा परिणत भएको थियो।
बिर्तामोड भेट्रान्सका युगल किशोर राईले ४५औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत दिएका थिए। तर त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा आयोजक सालबारी–मिलडाँडा २–१ ले विजयी भयो।
दुई गोल गरेका आयोजकका विनोद बान्तवा खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
अब उपाधिका लागि आयोजक सालबारी–मिलडाँडा भेट्रान्सले चारपाने युनाइटेड भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। चारपानेले यसअघि झिलझिले भेट्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
असोज २४ गते हुने फाइनलका विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताका विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए।
प्रतियोगितामा आयोजकसहित बौद्ध भेट्रान्स पाँचथर, मेची भेट्रान्स काँकडभिट्टा, ज्ञानेचोक भेट्रान्स, चन्द्रगढी भेट्रान्स, झिलझिले भेट्रान्स, बिर्तामोड भेट्रान्स र चारपाने युनाइटेड भेट्रान्स गरी आठ टोलीको सहभागिता रहेको थियो।


