
झापा, २४ असोज । आज शनिबार कोशी प्रदेशसहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न सक्ने मौसम पूर्वानुमान रहेको छ ।
दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।
त्यस्तै, कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न सक्नेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्भावित वर्षा, चट्याङ र हिमपातबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।


